×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन कैरन नेपाल अर्थ समाचार

समाचार

सेल्फी डाँडामा ८ फिट अग्लो गौतम बुद्धको मूर्ति स्थापना कार्य शुभारम्भ

सेल्फी डाँडामा ८ फिट अग्लो गौतम बुद्धको मूर्ति स्थापना कार्य शुभारम्भ

हेटौंडा । हेटौंडा उपमहानगरपालिका–१० नम्बर वडा कार्यालयको पहलमा सेल्फी डाँडामा भगवान् गौतम बुद्धको ८ फिट अग्लो मूर्ति स्थापना गर्ने कार्यको शुभारम्भ गरिएको छ।

मूर्ति स्थापना गर्नुअघि विधिपूर्वक भूमि पूजा तथा धार्मिक अनुष्ठान सम्पन्न गरिएको हो। धार्मिक तथा पर्यटकीय महत्व बोकेको सेल्फी डाँडालाई थप आकर्षक र व्यवस्थित पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले बुद्धको मूर्ति स्थापना गर्न लागिएको वडा कार्यालयले जनाएको छ।

कार्यक्रममा भुटनदेवी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष तथा पदाधिकारीहरू, वडा सदस्यहरू, डा. टोनी हेगन पार्कका अध्यक्ष, माछामासु व्यवसायी संघका अध्यक्ष, पूर्व खेलकुद विकास समितिका अध्यक्ष, धर्मगुरुहरू, टोल विकास संस्थाका अध्यक्षहरू, बुद्धिजीवी, समाजसेवी, स्थानीय टोलवासी तथा विभिन्न युवा क्लबका अध्यक्षलगायतको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रमका प्रमुख अतिथि समाजसेवी तथा अध्यक्ष फुर्ब दोर्जे लामाले भगवान् गौतम बुद्धको शान्ति, करुणा, अहिंसा र सद्भावको सन्देशलाई जनस्तरसम्म पुर्‍याउँदै सेल्फी डाँडालाई धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले मूर्ति स्थापना गर्न लागिएको बताउनुभयो।

उहाँले सेल्फी डाँडाको प्राकृतिक सौन्दर्यसँगै बुद्धको मूर्ति स्थापनाले यस क्षेत्रको धार्मिक, सांस्कृतिक तथा पर्यटकीय महत्व थप बढ्ने विश्वास व्यक्त गर्नुभयो।

स्थानीयको सहभागिता र सहकार्यमा अघि बढाइएको यस अभियानले हेटौंडाको पर्यटन प्रवर्द्धनसँगै धार्मिक सहिष्णुता, शान्ति र सद्भावको सन्देश प्रवाह गर्न महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ। “सुन्दर हेटौंडा, सफा हेटौंडा, स्वस्थ हेटौंडा— हाम्रो प्रतिबद्धता, हाम्रो जिम्मेवारी।”

प्रतिकृया दिनुहोस्