×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन कैरन नेपाल अर्थ समाचार

समाचार

बादललाई उत्तेजित पार्ने प्रचारबाजीप्रति प्रश्न, राजनीतिक अनुभवलाई वस्तुनिष्ठ मूल्याङ्कन गर्न आग्रह

बादललाई उत्तेजित पार्ने प्रचारबाजीप्रति प्रश्न, राजनीतिक अनुभवलाई वस्तुनिष्ठ मूल्याङ्कन गर्न आग्रह

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’लाई लक्षित गर्दै पछिल्लो समय विभिन्न प्रकारका प्रचारबाजीमार्फत भ्रम सिर्जना गर्ने तथा उत्तेजित र हतोत्साहित बनाउने प्रयास भइरहेको चर्चा हुन थालेको छ।

लामो राजनीतिक संघर्ष, वैचारिक यात्रा र संगठनात्मक अनुभवबाट खारिएका नेता बादल यस्ता प्रचारबाट सहजै प्रभावित हुने व्यक्तित्व नभएको राजनीतिक वृत्तमा टिप्पणी हुने गरेको छ। आवश्यक समयमा राजनीतिक निर्णय लिन सक्ने तथा पार्टी, नेतृत्व र वैचारिक विषयमा आफ्नो स्पष्ट धारणा राख्न सक्ने नेताका रूपमा उनलाई लिइन्छ।

बादललाई लक्षित गर्दै मुख्यतः तीन प्रकारका प्रचार बढी चर्चामा आएको देखिन्छ। पहिलो, ‘अध्यक्षको नेतृत्व हत्याउन केपी ओलीसँग निकट हुन खोजेको’ भन्ने प्रचार। नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली नेतृत्वसँगको राजनीतिक सहकार्यलाई व्यक्तिगत महत्वाकाङ्क्षा वा नेतृत्व हत्याउने रणनीतिका रूपमा मात्र व्याख्या गर्नु उपयुक्त नहुने तर्क गरिएको छ।

राजनीतिक सहकार्यलाई व्यक्ति केन्द्रित पदको आकाङ्क्षासँग मात्र जोडेर हेर्नुभन्दा त्यसको राजनीतिक सन्दर्भ र उद्देश्यलाई समेत बुझ्नुपर्ने देखिन्छ। दोस्रो, ‘एमालेलाई माओवादीकरण गर्न खोजेको’ भन्ने आरोप। बादलको विगतको राजनीतिक पृष्ठभूमिलाई आधार बनाएर एमालेभित्र माओवादीकरणको प्रयास भइरहेको भन्ने प्रचारलाई पनि अतिरञ्जित रूपमा लिइएको छ।

एमालेको आफ्नै राजनीतिक इतिहास, वैचारिक आधार, संगठनात्मक संरचना र राजनीतिक कार्यदिशा रहेको अवस्थामा फरक पृष्ठभूमिबाट आएका कुनै नेताकै कारण पार्टीको चरित्र परिवर्तन हुन्छ भन्ने निष्कर्ष स्वतः सही नहुने तर्क छ। तेस्रो, ‘एमालेको वैचारिक धार अध्ययन नगरेको’ भन्ने प्रचार। लामो समयदेखि राजनीतिक तथा वैचारिक क्षेत्रमा सक्रिय बादललाई एमालेको विचार, नीति र राजनीतिक दिशाबारे अनभिज्ञ देखाउने प्रयास पनि यथार्थपरक नभएको टिप्पणी गरिएको छ।

एमालेसँगको सहकार्य र त्यसपछिको राजनीतिक यात्राका क्रममा उनले पार्टीको विचार, नीति तथा राजनीतिक दिशाबारे आफ्नो धारणा निर्माण गरेको देखिन्छ।

त्यसैले अहिलेको आवश्यकता बादललाई उत्तेजित पार्ने वा हतोत्साहित बनाउने प्रचारभन्दा पनि उनको राजनीतिक अनुभव, वैचारिक दृष्टिकोण र निर्णय क्षमताको वस्तुनिष्ठ मूल्याङ्कन गर्नु रहेको देखिन्छ। राजनीतिमा प्रचारबाजीले केही समय भ्रम सिर्जना गर्न सक्ला, तर अन्ततः कुनै पनि नेताको वास्तविक राजनीतिक परीक्षा उसको निर्णय, विचार, व्यवहार र राजनीतिक भूमिकाबाटै हुने राजनीतिक विश्लेषकहरूको बुझाइ छ।

प्रतिकृया दिनुहोस्