काठमाडौं । बर्गर हाउस एन्ड मेलुङ थकाली ग्रुपको तर्फबाट रसुवाका बाढीपीडित परिवारका लागि ५ लाख रुपैयाँभन्दा बढी मूल्य बराबरको राहत सामग्री सहयोग गरिएको छ।
प्राकृतिक विपत्तिबाट प्रभावित परिवारलाई तत्काल आवश्यक पर्ने खाद्यान्न, लत्ताकपडा, सरसफाइ तथा दैनिक उपभोग्य सामग्रीसहितको राहत सामग्री उपलब्ध गराइएको हो।

राहत सामग्री वितरणका लागि टोलीले करिब २० घण्टासम्म जोखिमपूर्ण यात्रा गर्दै प्रभावित क्षेत्र पुगेर पीडित परिवारलाई सामग्री हस्तान्तरण गरेको जनाइएको छ। ग्रुपका संस्थापक तथा युवा समाजसेवी बसन्त लामाका अनुसार देशमा समस्या तथा विपद् आइपर्दा संस्थाले विगतदेखि नै सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोगका हातहरू अगाडि बढाउँदै आएको छ। भूकम्प, कोरोना महामारी, बाढीपहिरोलगायतका विपद्का समयमा समेत प्रभावित नागरिकलाई आवश्यक सहयोग उपलब्ध गराउँदै आएको उनले बताए।
त्यस्तै, बर्गर ग्रुपका सदस्य मेघलाल पाख्रीनले पनि विगतका विपद्का समयमा निरन्तर सहयोग गर्दै आएको उल्लेख गर्दै यसपटक रसुवा बाढीपीडितको दुःख र पीडामा साथ दिन राहत सामग्री उपलब्ध गराइएको बताए।

त्यस्तै, बर्गर ग्रुपका सदस्य तथा समाजसेवी मेघलाल पाख्रीनले विगतका दिनमा भूकम्प, कोरोना तथा बाढीपहिरोबाट प्रभावित नागरिकलाई सहयोग गर्दै आएको उल्लेख गर्दै यसपटक पनि रसुवाका बाढीपीडितको पीडामा साथ दिन राहत सामग्री उपलब्ध गराइएको बताए।
यस राहत अभियानमा नवीन थापाले जिन्स पाइन्ट तथा स्याम लामाले ५० थान सोलार लाइट सहयोग गरेका छन्। उनीहरूको सहयोगले विपद्बाट प्रभावित परिवारलाई आवश्यक सामग्री उपलब्ध गराउन थप सहज भएको जनाइएको छ।
राहत सहयोगअन्तर्गत ५० थान सोलार, २०० थान जिन्स पाइन्ट, ५० बोरा चामल, २५०–२५० थान ब्रस र मन्जन, ७५ प्याकेट चिउरा, ७० जोर ट्र्याकसुट, ३ बोरा साबुन, ३ बोरा सरफ, १ हजार ५०० थान सञ्चो तथा ५ बोरा दाल लगायतका सामग्री रहेका छन्।

विपद्को कठिन समयमा पीडित परिवारको तत्कालीन आवश्यकता पूरा गर्न निजी क्षेत्र तथा सामाजिक संस्थाबाट हुने यस्ता सहयोगले राहत तथा पुनर्स्थापनाको अभियानमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।
बर्गर हाउस एन्ड मेलुङ थकाली ग्रुपले आगामी दिनमा पनि विपद् तथा सामाजिक सेवाका क्षेत्रमा आफ्नो सहयोगलाई निरन्तरता दिने जनाएको छ।
