हेटौंडा उपमहानगरपालिका–१८ का नागरिकले अब आफ्नै घरआँगनमा महिनाको दुई पटक निःशुल्क विशेषज्ञ चिकित्सकीय सेवा पाउने भएका छन्।
हेटौंडा उपमहानगरपालिका–१८ र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने सम्बन्धमा सम्झौता सम्पन्न भएको हो। २०८३ साल असोज १ गतेदेखि लागू हुने गरी एक वर्षका लागि सम्झौता गरिएको जनाइएको छ।

सम्झौताअनुसार हेटौंडा उपमहानगरपालिका–१८ मा महिनाको दुई पटक स्त्रीरोग विशेषज्ञ (गाइनोलोजिस्ट) र फिजिसियन सेवा उपलब्ध हुनेछ। आवश्यकता र नागरिकको मागअनुसार आगामी दिनमा अन्य विशेषज्ञ चिकित्सकीय सेवा समेत थप गर्दै लैजाने तयारी गरिएको छ। सम्झौतामा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्राध्यापक डा. दिनेश लम्साल र हेटौंडा उपमहानगरपालिका–१८ का वडा अध्यक्ष अनिल बानियाँबीच सहमति भएको हो।
वडा अध्यक्ष अनिल बानियाँले आर्थिक अभावका कारण कुनै पनि नागरिक उपचारबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले विशेषज्ञ स्वास्थ्य सेवा वडा तहबाटै उपलब्ध गराउने पहल गरिएको बताए। उनले भने, “स्वास्थ्य सेवा लिन टाढा जानुपर्ने र आर्थिक अभावका कारण उपचार गर्न नसक्ने अवस्थाको अन्त्य गर्न हामीले यो कार्यक्रम अघि बढाएका हौं।
नागरिकले आफ्नै वडा र घरआँगन नजिकै विशेषज्ञ चिकित्सकको सेवा पाउन सकून् भन्ने हाम्रो मुख्य उद्देश्य हो। आगामी दिनमा आवश्यकता पहिचान गरी अन्य विशेषज्ञ सेवा पनि थप गर्दै लैजाने प्रयास गर्नेछौं।” वडा अध्यक्ष बानियाँले स्वास्थ्य नागरिकको आधारभूत आवश्यकता भएकाले हेटौंडा उपमहानगरपालिका–१८ ले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर आगामी दिनमा पनि थप प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने बताए।
स्थानीयस्तरमै विशेषज्ञ चिकित्सकको सेवा उपलब्ध हुने भएपछि हेटौंडा उपमहानगरपालिका–१८ का नागरिकलाई स्वास्थ्य उपचारका लागि टाढा जानुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ।