×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन कैरन नेपाल अर्थ समाचार

समाचार

सांसदको व्यवहारमाथि प्रश्न गर्दा चालकलाई प्रहरीले रोक्यो, ‘पहुँचका आधारमा दुःख दिइयो’

सांसदको व्यवहारमाथि प्रश्न गर्दा चालकलाई प्रहरीले रोक्यो, ‘पहुँचका आधारमा दुःख दिइयो’

मकवानपुर । सडकमा सवारी आवागमन प्रभावित हुने गरी गाडी रोकेको विषयमा प्रश्न गर्दा आफूलाई उल्टै प्रहरीले नियन्त्रणमा लिएर लामो समय केरकार गरेको एक चालकले आरोप लगाएका छन्।

मनहरीका सुसन भोलनले भीमफेदीको जुरिखेतमा मंगलबार भएको घटनामा आफूले कुनै गैरकानुनी काम नगरेको दाबी गर्दै सांसद तथा राष्ट्रिय स्वतन्त्र पार्टीका नेता प्रकाश गौतमको व्यवहारमाथि प्रश्न गरेकै कारण आफूलाई प्रहरीले दुःख दिएको बताएका हुन्।

भोलनका अनुसार मंगलबार दिउँसो करिब ३ बजेको समयमा उनी पालुङ–देउराली हुँदै हेटौंडातर्फ आउँदै थिए। जुरिखेत नजिक सडकमा सवारीसाधनको जाम देखेपछि उनले कारण बुझ्दा सांसद गौतमले केही मोटरसाइकल तथा विद्युतीय गाडीका चालकसँग विवाद गरिरहेको देखेको बताए।

सडकमा सवारी आवागमन सहज बनाउन आग्रह गर्दै आफूले सांसदसँग प्रश्न गरेको भोलनको भनाइ छ। उनका अनुसार आफूले ‘यसरी सडक अवरुद्ध गरेर सर्वसाधारणलाई दुःख दिन मिल्छ ?’ भन्ने आशयमा कुरा राखेपछि विवाद बढेको थियो।
घटनापछि आफू हेटौंडातर्फ अघि बढेको केही समयमै सांसद गौतमले आफ्नो गाडीको नम्बर टिपेको बताएका थिए। त्यसपछि भैंसेमा प्रहरीले गाडी रोकेर कागजात जाँच गरेको भोलनले बताए।
‘ब्लुबुक र लाइसेन्सलगायत सबै कागजात दिएँ। तर, मलाई त्यत्तिकै साइडमा राखियो,’ भोलनले भने, ‘गल्ती गरेको भए कारबाही गर्नुस्, तर कारण नबताई किन रोकिराख्ने ? भनेर सोध्दा असई आउँदै हुनुहुन्छ भनियो।’

उनका अनुसार करिब सवा घण्टापछि प्रहरी अधिकारी आएर आफूले के गल्ती गरेको हो भनेर सोधेका थिए। आफूले कुनै गल्ती नगरेको र सडकमा भएको घटनाबारे प्रश्न मात्रै गरेको जानकारी गराएको भोलनले बताए।


आफूसँग घटनाको भिडियोसमेत रहेको भन्दै उनले प्रहरीलाई भिडियो देखाएको दाबी गरेका छन्। त्यसपछि प्रहरीकै मोबाइलबाट सांसद गौतमसँग कुराकानीसमेत भएको उनको भनाइ छ।

कुराकानीका क्रममा सांसदले आफूलाई मुख छाडेको आरोप लगाएको र प्रहरी कार्यालय तथा प्रमुख जिल्ला अधिकारीसमक्ष लगेर उभ्याउन सक्ने चेतावनी दिएको भोलनले दाबी गरेका छन्।


‘मैले गलत गरेको भए कानुनअनुसार कारबाही भोग्न तयार छु। तर, प्रश्न गरेकै भरमा गाडी नम्बर टिपाएर प्रहरीमार्फत लामो समय रोक्नु उचित होइन,’ भोलनले भने।
उनले सार्वजनिक पदमा रहेका व्यक्तिले सर्वसाधारणसँग संयमित र जिम्मेवार व्यवहार गर्नुपर्ने बताए। साथै, प्रहरीले पनि कुनै व्यक्तिको पहुँच वा पदका आधारमा नभई प्रमाण र कानुनी प्रक्रियाका आधारमा मात्रै कारबाही गर्नुपर्ने उनको भनाइ छ।

घटनासम्बन्धी भिडियो आफूले सुरक्षित राखेको र आवश्यक परे सम्बन्धित निकायमा प्रस्तुत गर्न सक्ने भोलनले बताए।
यस विषयमा सांसद प्रकाश गौतमको आधिकारिक प्रतिक्रिया लिन सम्पर्क गर्ने प्रयास गरिए पनि सम्पर्क हुन सकेन। सांसदको प्रतिक्रिया प्राप्त भएपछि समाचारमा समेटिनेछ।

प्रतिकृया दिनुहोस्