×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन कैरन नेपाल अर्थ समाचार

राजनीति

सबैलाई एकै थलोमा बोलाउँदै प्रचण्ड

सबैलाई एकै थलोमा बोलाउँदै प्रचण्ड

काठमाडौं । झन्डै डेढ दर्जन दल तथा समूह मिलेर नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बनेपछि उत्साहित बनेका संयोजक प्रचण्डले अन्यत्र छरिएका बाँकी दललाई पनि आफूसँग गोलबद्ध हुन आह्वान गरेका छन् । पार्टीले देशव्यापीरुपमा आयोजना गरेको एकता सन्देशसभा मार्फत् उनले सवैलाई एकै थलोमा आउन अनुरोध गरेका हुन् ।

सभालाई सम्बोधन गर्ने क्रममा संयोजक प्रचण्ड दोहोर्याए –तेहर्याइ भने– ‘नेकपा एमालेका नेताहरू पनि नेकपामा आउँछन् ।’ नेकपा एकता घोषणा सभादेखि नै एमाले नेताहरूसँग छलफलमा रहेको बताएका प्रचण्डले सन्देश सभाहरूमा यही कुरा दोहोर्याए । नेकपा बनेको हप्तादिन नहुँदै २६ कात्तिकमा उनले एमाले छाडेर सबै नेताहरू नयाँ पार्टीमा आउने दावी गरेका हुन् । 

केही दिनअघि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै प्रचण्डले भनेका थिए– ‘हामी एक ठाउँमा आइसक्यौँ । केपीले हावा कुरा गर्छन्, एमाले छाडेर सबै यता आउँछन् ।’ यस्तै, १४ मंसिरमा दाङको लमहीमा आयोजित सन्देश सभालाई सम्बोधन गर्दै पनि प्रचण्डले एमालेभित्र क्रान्तिकारी र देशभक्तहरूको ठूलो पंक्ति रहेको र उनीहरूलाई एकतामा ल्याउने प्रयास भइरहेको बताएका थिए ।

उता, २७ मंसिरमा कर्णालीको सन्देश सभामा पनि प्रचण्डले सोही कुरा दोहो¥याए । एमालेका नेताहरूले आफूहरू पनि ध्रुवीकरणको पक्षमा रहेको भन्दै बधाई दिने गरेका उनले सुनाए । भने– ‘हामीले गरेको एकतालाई निकै रुचीपूर्वक अन्तरराष्ट्रिय जगतले मसँग कसरी यो सम्भव भयो ? यो त निक्कै ठूलो कुरा हो भनेर बधाई दिनेको ताँती छ ।’ 

उनको थप भनाइ थियो– ‘देशभित्र पनि मैले यसो भन्दा कतिपयलाई नमिठो लाग्न सक्छ । तर, नेकपा एमालेभित्र थुप्रै नेताहरूले बधाई भन्नुभएको छ । तपाईँहरू १६ वटा एक हुनुभयो । हामी पनि एकताकै पक्षमा छौँ । ध्रुवीकरण र रुपान्तरणकै पक्षमा छौँ भनेर बधाई दिने कमरेडहरू ठूलो संख्यामा हुनुहुन्छ । यो भन्दा धेरै अहिले म भन्न चाहन्न ।’ 

उसो त नेकपा गठनयता प्रचण्डले सम्बोधन गर्ने अधिकांश मञ्चहरूमा प्रचण्डले यो कुरा दोहो¥याउँदै आएका छन् । यी नै अभिव्यक्तिहरूबाट स्पष्ट हुन्छ कि उनी महाधिवेशनपछि एमालेमा असन्तुष्ट रहेका नेताहरूलाई नेकपामा भित्र्याउन चाहन्छन् । यसलाई पार्टीभित्र र अन्य सवैजसो दल तथा नेताले प्रचण्डको सकारात्मक कदम भनेर टिप्पणी गरेका छन् । 
 

प्रतिकृया दिनुहोस्