काठमाडौं, भदौ २४ । रसुवामा भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको राहत तथा पुनर्स्थापनाका लागि एसियाका आदिवासी जनजातिको ऐक्यबद्धता कोष (IPAS) ले ७ लाख रुपैयाँ सहयोग गरेको छ।
बाढीबाट प्रभावित समुदायको पुनर्स्थापना तथा जीविकोपार्जनमा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम नेपाल तामाङ घेदुङसँगको सहकार्यमा परिचालन गर्ने गरी हस्तान्तरण गरिएको हो।
IPAS की एसियाली कार्यकारी सदस्य प्रतिनिधि, राष्ट्रिय आदिवासी अपाङ्ग महिला संघ नेपालकी अध्यक्ष तथा त्रिभुवन विश्वविद्यालयकी उपप्राध्यापक डा. प्रतिमा गुरुङ, IPAS को देशस्तरीय समितिका सदस्य हिलारी भुजेललगायतले नेपाल तामाङ घेदुङलाई ७ लाख रुपैयाँको चेक हस्तान्तरण गर्नुभएको हो।
चेक हस्तान्तरणका क्रममा IPAS प्रतिनिधिहरूले रसुवामा बाढीबाट प्रभावित परिवारको तत्कालीन आवश्यकता सम्बोधनसँगै दीर्घकालीन पुनर्स्थापनाका लागि नेपाल तामाङ घेदुङसँग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
भदौ १० गते आएको बाढीले रसुवाका विभिन्न बस्तीमा ठूलो जनधनको क्षति पुर्याएको थियो। बाढीका कारण कतिपय परिवार घरबारविहीन भएका छन् भने खेतीपाती, पशुपालन, व्यापार–व्यवसाय तथा दैनिक जीविकोपार्जनका आधारमा समेत गम्भीर असर परेको छ।
प्राप्त सहयोग रकमलाई वास्तविक पीडित परिवारसम्म पारदर्शी र प्रभावकारी रूपमा पुर्याइने नेपाल तामाङ घेदुङका संघीय अध्यक्ष रामकृष्ण ब्लोन तामाङले बताउनुभएको छ। उहाँले विपत्तिको समयमा सहयोग गर्ने IPAS लगायत सम्पूर्ण सहयोगी संस्था तथा व्यक्तिहरूप्रति आभार व्यक्त गर्दै पीडितको आवश्यकता र प्राथमिकताका आधारमा राहत तथा पुनर्स्थापनाका कार्यक्रम अघि बढाइने जानकारी दिनुभयो।
रसुवाको बाढीले भौतिक संरचना र सम्पत्तिमा मात्रै क्षति पुर्याएको छैन, प्रभावित परिवारको जीविकोपार्जन र भविष्यसमेत संकटमा पारेको छ। यस्तो अवस्थामा प्राप्त सहयोगले पीडितलाई तत्काल राहत उपलब्ध गराउनुका साथै पुनः सामान्य जीवनमा फर्किन केही आधार तयार गर्ने अपेक्षा गरिएको छ।
IPAS बाट प्राप्त ७ लाख रुपैयाँको सहयोगले विपत्तिमा परेका समुदायप्रति आदिवासी जनजाति समुदायबीचको ऐक्यबद्धता, सहकार्य र मानवीय जिम्मेवारीलाई थप बलियो बनाएको सम्बन्धित पक्षले बताएका छन्।