×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन कैरन नेपाल अर्थ समाचार

अर्थ/वाणिज्य

बैंकिङ प्रणालीबाट ८५ अर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक

बैंकिङ प्रणालीबाट ८५ अर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक

काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले ८५ अर्ब रुपैयाँ तरलता खिच्ने भएको छ । केन्द्रीय बैंकले साउन २० गते निक्षेप संकलन उपकरणमार्फत बैंक तथा वित्तीय संस्थाबाट उक्त रकम उठाउन लागेको हो ।

राष्ट्र बैंकका अनुसार यसका लागि मंगलबार दिउँसो ३ बजे बोलकबोल (अक्सन) आयोजना गरिनेछ । बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकमा निक्षेप राख्नका लागि बोलकबोलमार्फत सहभागिता जनाउन सक्नेछन् ।

निक्षेप दिन इच्छुक बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँदेखि बोलकबोल गर्न सक्नेछन् । त्यसपछि ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने रकममा अधिकतम आह्वान गरिएको ८५ अर्ब रुपैयाँसम्म बोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

केन्द्रीय बैंकका अनुसार निक्षेप संकलनको बोलकबोल ब्याजदरका आधारमा गरिनेछ । सहभागी संस्थाले फरक–फरक ब्याजदरमा समेत बहुबोलकबोल गर्न सक्ने व्यवस्था गरिएको छ । राष्ट्र बैंकले जारी गरेको सूचनाअनुसार निक्षेप संकलन उपकरणमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् ।

यो ९० दिने निक्षेप संकलन उपकरण हुनेछ । यसअन्तर्गत बैंक तथा वित्तीय संस्थाले राखेको रकमको साँवा र ब्याज आगामी कात्तिक १९ गते भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ । पछिल्लो समय कर्जा विस्तारको तुलनामा निक्षेप वृद्धि उच्च हुँदा बैंकिङ प्रणालीमा लगानीयोग्य रकम बढ्दै गएको छ । अधिक तरलताका कारण अन्तरबैंक ब्याजदर दबाबमा पर्न थालेपछि राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ ।

केन्द्रीय बैंकले बजारमा आवश्यकभन्दा बढी रहेको तरलता खिचेर ब्याजदर स्थिर राख्ने तथा मौद्रिक व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यले यस्तो उपकरण प्रयोग गर्ने गरेको छ ।

 

प्रतिकृया दिनुहोस्